–नारायण केसी
वडा अध्यक्ष, ललितपुर महानगरपालिका वडा नंबर-४
वि.सं. २०१७ सालमा ललितपुरको जावलाखेलमा जन्मनु भएका नारायण केसी वि.सं. २०६३ सालदेखि स्वर्गिय नेता मनमोहन अधिकारी, मदन भण्डारी र अहिले पनि राजनीतिमा सक्रिय रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र पृथ्वी सुब्बा गुरुङसँग प्रभावित हुँदै एमाले बनेका हुन्। नेकपा एमालेको सदस्यता लिइ राजनीतिमा होम्मिएका केसी स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं-४ को वडा अध्यक्ष पदमा विजयी बनेका हुन्। निर्वाचित जनप्रतिनिधि भएर आफ्नो वडाबासीलाई अप्ठ्यारो परेको वेला सदैब साथ दिँदै आउनु भएका अत्यन्त लोकप्रिय, मिलनसार र कर्मठ व्यक्तित्व ललितपुर महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष नारायण केसीसँग नामी साप्ताहिकका विशेष संवाददाता प्रज्ज्वल घिमिरेले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ।
शुरुमा कसरी राजनीतिमा प्रवेश गर्नु भयो ?
शुरुमा समाज सेवा गरेँ त्यसपछि राजनीति गर्न थालेँ ।
तपाईले किन र के का लागि राजनीति गर्नु भएको हो ?
समाजको बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हो । देशलाई एउटा राम्रो वातावरणमा कसरी लाने भन्ने मेरो चिन्तनले मलाई राजनीति तर्फ धकेल्यो । लोभ लालच भएका मानिसहरुका कारण राम्रो काम गर्न गाह्रो चाहिं हुँदो रहेछ तर, मैले सबै जात-जाति, तह र तप्काका मानिसहरुको हक र हितका लागि समर्पित भइ काम गर्ने भएकोले मलाई समाज सुधार्न असम्भव छ जस्तो चाहि लाग्दैन।
वडा अध्यक्षको चुनाव जित्नु अगाडि समाजलाई के योगदान दिनु भएको थियो ?
स्थानीय चुनाव २० वर्षसम्म नभएकोले त्यस अवधिमा मैले समाज सेवा गरेँ । सिलाई बुनाई कार्यक्रम सञ्चालनका लागि वडा नं. ४ कै अफलडोल बस्नेत गाउँमा महिलाहरुको हक र हितका लागि भवन बनाएँ । अहिले त्यहाँ आधारभुत स्वास्थ्य केन्द्र बसेको छ। यो त एउटा स्मरणमा रहेको काम मात्र हो । मैले समाजलाई उपयोगी हुने कामहरु वडा अध्यक्ष हुनुभन्दा अगाडि अरु पनि धेरै गरेको छु।
मुलुक बनाउँन जनप्रतिनीधिले के गर्नु पर्छ जस्तो लाग्छ ?
सबैको सहयोग लिनु पर्छ । कसैलाई भेदभाव गर्नु हुँदैन । सबैको कुरा सुनेर कसरी समस्या समाधान गर्न सकिन्छ। त्यसमा तल्लीन हुनुपर्छ। भ्रष्टाचार बन्द हुनुपर्छ। योजनाहरुलाई सफल पार्न निष्पक्ष भएर काम गुर्नुपर्छ। हाम्रो वडा नं. ४ मा जस्तो काम भयो भने मुलुक बन्छ।
तपाईँले वडा नं. ४ बासीको मन जित्न सफल हुनुको कारण के हो ?
मेरो फरासिलो स्वभाव वडावासीको काम सरल र सहज ढङ्गले गर्ने प्रवृत्ति र मैले आफ्नो मात्र नभइ सबै राजनैतिक विचारधारा भएका व्यक्तिहरुसँग राम्रो सम्बन्ध राख्ने भएकोले म वडा नं. ४ बासी सबैको मन जित्न सफल भएको हुँ।
वडा नं. ४ वडाबासीले आफूलाई चुनाव जिताएर ठीक गरे भन्ने कुरालाई पुष्टि गर्ने काम अहिलेसम्म के के गर्नु भयो ?
पहिलो काम त जनताले तिरेको करको सदुपयोग गर्दै वडा कार्यालयका लागि भवन बनाएँ, धेरै ठाउँमा ढलको व्यवस्थापन गरेँ, खानेपानी सबैलाई उपलब्ध गराउँन पहल गरेँ र धेरै ठाउँमा बाटोघाटो बनाएँ । वडा नं. ४ बासीले मलाई चुनाव जिताएर ठीक गरे भन्ने कुराको पुष्टि मैले गरेका यिनै कामहरुले गर्छ ।
तपाईँको सिधा सादा र छलकपट रहित बानीले यो विकृति नै विकृति भएको समाजका मान्छेहरुले कमजोरीको रुपले हेरेर दुख देलान जस्तो लाग्दैन ?
मेरो बानीको फाइदा उठाई मलाई फसाउन सकिन्छ कि भनेर मान्छेहरु त आउँछन्। तर म एउटा वडा अध्यक्ष मात्र नभएर एउटा सचेत नागरिक पनि हुँ । त्यसैले मेरो इमान्दारिताले मेरो संरक्षण गर्छ भन्ने कुरामा म विश्वस्त छु।
तपाइँले चुनाव जितिसकेपछिको अवस्था र अहिलेको अवस्थामा के भिन्नता पाउँनुहुन्छ ?
चुनाव जित्नु भन्दा अगाडि जिम्मेवारी काँधमा नभएकोले काम गर्न खासै गाह्रो थिएन। तर अहिले आफू सोझो मान्छे भएकोले सोचविचार गरेर काम गर्नु परेको छ झुक्याउलान् कि भनेर ।
केपी ओलीले संसद भंग गर्नुको कारण के हो जस्तो लाग्छ ?
एउटा घरमुलीलाई घरभित्र काम गर्न दिएनन् भने त उसलाई घर चलाउँन गाह्रो हुन्छ भने देश हाँक्ने मान्छेलाई खुट्टा तानेर काम गर्न नदिएपछि यो अवस्था आउनु स्वभाविकै हो । केपी ओली नेपालको गुमेको भूमि फिर्ता ल्याउन अहिले पनि तल्लीन हुनुहुन्छ। उहाँ धेरै आँट भएको र देशका लागि समर्पित भएर काम गर्ने व्यक्ति हो । उहाँले नयाँ नयाँ योजना ल्याउनु भयो तर के गर्ने ? उहाँलाई कामै गर्न दिएनन्।
केपी ओलीको कदमले अहिले मुलुकमा कस्तो परिस्थिति सिर्जना गर्यो ?
यो देशलाई सतिले सरापेकोले धेरै पहिला नेपाली काँङ्ग्रेस पनि दुई तिहाई मत ल्याएर असफल भयो। अहिले कम्यूनिष्टहरुले झण्डै झण्डै दुई तिहाई मत ल्याउँदा पनि आफ्नै मान्छेहरुले सफल हुन दिएनन् । आफ्नै खुट्टामा आफै उभिन पर्ने वेलामा खुट्टा तानातान गरे अनि के गर्ने ? तर जनता धेरै खुशी भएका छन् । जनता केपी ओलीको साथमा छन्। काँङ्ग्रेस पनि चुनावमा जान इच्छुक छ। मजदुर किसान पार्टीका अध्यक्षले समेत केपी ओलीको कदम ठीक भनि सक्नु भयो।
प्रचण्ड र माधव नेपालको अहिलेको गतिविधि कस्तो लाग्छ ?
उहाँहरुले नै सबैलाई मिलाएर लानु पर्नेमा उहाँहरु नै झगडाको मुख्य कारण बन्नु भयो अनि के गर्ने ?
वडा नं-४ मा अव तपाईँको नयाँ योजना के छ ?
बाटो, खानेपानी र ढलको अझ राम्रो व्यवस्था लगाएत महिला, दलित, जनजाति सबैलाई चेतनशील बनाउँदै स्वास्थ्यको क्षेत्रमा अझ राम्रो काम गर्ने योजना बनाएको छु ।
कुराकानीकाे अन्त्यमा तपाईँ वडा नं. ४ बासीलाई के भन्न चाहनु हुन्छ ?
म वडा नं-४ बासीलाई अझ चेतनशील हुँदै कोरोनाविरुद्ध लडन जनचेतना फैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नुस् र आफ्नो टोल आफै बनाउँन सकिन्छ भन्ने कुरामा दृढ हुनुस् भन्दै हाम्रो वडामा विकासका कामहरु अहिलेसम्म सफलतापूर्वक सम्पन्न गराउँन साथ दिनु भएकोमा धन्यबाद दिन चाहन्छु। अनि भविष्यमा पनि वडा-४ बासीबाट यस्तै सहयोग र साथ पाइरहने आशा एवम् विश्वास गर्दछु।
-नामी साप्ताहिकबाट