वेलायत । बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा नेपाली शिवजी श्रेष्ठ नियुक्त भएका छन्।
रंगभेद तथा जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामको रणनीति तय गर्न पूर्वमन्त्रीको जिम्मेवारी बहन गरिसकेका सत्तारूढ पार्टीका बेलायती सांसदले गठन गरेको समितिमा नेपाली शिवजी श्रेष्ठलाई नियुक्त गरेकाे हाे।
बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका समेत श्रेष्ठ अध्यक्ष हुन्।
सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख इन्स्पेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्डलगायत सदस्य रहेका छन्।
कार्यक्षेत्रमा हुने जातीय विभेदसम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य हुनेछ।
श्रेष्ठ करीब २ महिना अघि बेलायती प्रहरीको ह्याम्पसायर कन्सट्याबुलरीको २ बर्षे कार्यकालको सल्लाहकार बोर्डमा नियुक्त ८ सदस्यमध्येका एक हुन्। स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदाय र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढीकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्दछ।
प्रहरीका गतिविधि र घटनाक्रमलाई स्वतन्त्रतापूर्वक समीक्षा गर्ने, त्यसप्रति आफ्नोे धारणा दिने र समुदायको भावना एवं आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो।
वेलायत जानु अघि पूर्व डिएसपीको जिम्मेवारी बहन गरेका श्रेष्ठद्धारा २०१८ मा प्रकाशित ‘द माओइस्ट इन्सर्जेन्सी इन नेपाल एन्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोरल’ पुस्तक अमेजन लगायतका अनलाइन सपिङ एजेन्सीहरुमा ६९ पाउण्ड २१ पेन्समा किन्न सकिन्छ र विभिन्न भाषाका पाठकको माग आएकाले फ्रेन्च, जर्मन, इटालियन, स्पेनिस, डच, पोलिस, पोर्चुगिज र रसियन भाषामा पनि यो पुस्तकलाई छिट्टै प्रकाशित गरिने भएको छ।
सशस्त्र द्धन्दका कारण प्रहरीको नैतिक आत्मबल निकै गिराइदिएको र त्यो अहिलेसम्म पनि पूर्ण रुपमा उठन नसकेकाले त्यसलाई कसरी उठाउने भन्ने प्रयास लेखकले आफ्नो पुस्तकमा उल्लेख गरेका छन ।
वेलायतमा नेपाली समुदायको गरिमा बढाउने यस किसिमका जिम्मेवारीका लागि शिवजी श्रेष्ठलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभेच्छा प्रकट गरेका छन्।