काठमाडौ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दैछ। यस करिडोरमा ६ किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडामा काम भइरहेको छ। विस्फोटक पदार्थको सहायताले कडा चट्टान फोरेर ट्र्याक खुल्नु पर्ने हुँदा केही समय लिने भएको छ।
विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गर्नका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ हुँदै गृह मन्त्रालयसम्म मागपत्र पठाएको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए। कञ्चनजङ्घा संरक्षण क्षेत्र भएकाले संरक्षण क्षेत्रलाई अनुमति लिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय पत्र पठाइसकेको पौडेलले बताए।
यता कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार संरक्षण क्षेत्रमा करिडोरको काम अगाडि बढाउनका लागि वन मन्त्रालयमा अनुमतिपत्र पठाइसकेको बताए । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्न इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ। गैरीपाटीदेखि इलाडाँडासम्म करीब ६ किलोमिटर दूरी रहेको पौडेलले बताए।
सुनसरी जिल्लाको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्चालनले जोड्ने आयोजना अहिले फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडामा काम भइरहेको पौडेलले बताए।
सुनसरीको चतरादेखि ओलाङचुङ्गोलासम्ममा २३० किलोमिटर पर्दछ । ओलाङचुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ। तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ। प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ। तीन सय १४ किलोमिटरले मित्र राष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने भएको छ ।
प्रदेश नम्बर १ सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङ्गोलाको नाका तथा चीनसँग सडक सञ्चालनले जोडिन भएको छ। चीनको सीमा ओलाङचुङ्गोला जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न शुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङ्गोलासम्म विकास गरिँदैछ।
तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको छ। सबै ब्लकको पहिलो काम ट्र्याक खुलाउनु हो। अहिले सबै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको इलाडाँडादेखि गैरीपाटीसम्मको ६ किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए ।
करीब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका-२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङ्गोलासम्म पुर्याइँदैछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने भएको छ। वि.सं. २०६५ मा सडक निर्माण शुरु गराएका थिए । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो। वि.सं. २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो।
चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ। यो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ। यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ।