नेपालमा केही बर्षयता होमस्टे चलाउने राम्रो लहर चलेको छ । शहरमा, गाउँमा, बजारमा, पहाडमा, तराईमा, हिमालमा होमस्टे चलाउन नगरपालिका तथा गाउंपालिकाहरूले प्राथमिकता दिन थालेका छन्। खासगरी पालिकाहरूले केही न केही नयाँ काम गरौं भन्ने अर्थमा पनि अनुदान दिएर होमस्टे चलाउन उत्साहित गर्ने कार्य हुन थालेको छ। जुन सकारात्मक कार्य हो।
होम स्टेको सुरुवात युरोप र अफ्रिकाबाट भएको हो । यसका जानकारहरू खासगरी गरिब राष्ट्रहरूले यसलाई आम्दानीको श्रोत बनाउने सन्दर्भमा होमस्टेको शुरुवात् गरेका हुन् भनेर भन्छन् । युरोपका गरिब देशले आफ्ना पाहुनालाई आतिथ्य गर्नका लागि घरघरमा रहेका कोठालाई व्यवस्थापन गर्दै यो अवस्थामा पुर्याएका हुन्।
अध्येताहरूको विचारमा गरिबीको रेखामुनि रहेका देशमा यसको व्यवस्थापन र सञ्चालन राम्रो रहेको छ। उनीहरू एकातिर पाहुनालाई परम्परागत भाषा, सभ्यता, संस्कृति, रहनसहन आदिको हस्तान्तरण गर्दै आएका छन् भने अर्कोतिर रोजगारीको माध्यम पनि बनेको छ।
नेपालको सन्दर्भमा स्याङ्गजा सिरूवारीको घलेगाउँ पुरानो र मोडल होमस्टे हो । वि.सं.२०५४ सालमा नेपालमा स्याङ्गजा सिरूवारीमा पहिलो पटक होमस्टे सञ्चालन गरिएको मानिन्छ । यसका अभियन्ता रूद्रमान गुरूङले यसको परिकल्पना वि.सं.२०२५ सालमै गरेर वि.सं.२०४८ सालदेखि होमस्टे बनाउन पूर्वधारमा जोड दिएतापनि वि.सं.२०५४ सालवाट मात्र व्यवस्थित रुपमा होमस्टे संचालनमा आएको इतिहास रहेको छ। वि.सं.२०६७ सालमा सरकारले सञ्चालन कार्यविधि ल्याएपछि होमस्टेले संस्थागत रूप लिएको हो।
स्याङ्गजा सिरूवारी पछि व्यवस्थित रुपमा होमस्टे संचालनमा आएको स्थान लमजुङको घलेगाउँ हो। घलेगाउँका प्रायः घरहरू ढुंगाको छपनीले छाइएको छ। गुरूङ जातिको बसोबास छ । प्रायः घर मूलिहरू अवकाश प्राप्त ब्रिटिश र भारतीय लाहुरे छन् साथै सो ठाउँमा गुरूङ जातिको जीवन शैलीको जिवन्त चित्रण अवलोकन गर्न पाइन्छ र स्थानीय रूपमा उत्पादित साग सब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ ।
सिरुवारी र घलेगाउँ होमस्टेको लागि रोलमोडल बनेपछि यसको सिको देशभर नै हुन थालेको हो। होमस्टे संचालन गर्न र गराउन यसका लागि आवश्यक तालिम दिने कार्य पनि संवन्धित स्थानिय निकायवाट भएवाट होमस्टे संचालन गर्न युवाहरुको पनि निक्कै आकर्षण बढ्न थालेको छ।

आकर्षक कमाइका लागि विदेश जान हानथाप गर्ने युवाहरु पनि हिजोआज होमस्टे संचालन गरेर मनग्गे कमाइ स्वदेशमा नै गरिरहेका छन्। रोजगारीको राम्रो माध्यम बन्न थालेको होमस्टेले परम्परागत माहोल तथा अर्गानिक स्वादलाई पनि जोगाउने कार्य गरेको छ। गाउंघर तथा दूर्गम क्षेत्रमा मात्र सिमित रहेको होमस्टे परम्परा हिजोआज शहरमा पनि शुरु भएको छ।
शहरी होमस्टेमा युवाहरुको आकर्षण अझ बृद्धि भएको छ। यस आकर्षणले पाश्चात्य सभ्यतामा चुर्लुम्म डुवेका युवाहरुका लागि शहरी होमस्टे सिकाइको माध्यम पनि बन्न थालेको छ । शहरी होमस्टेमा गएर आफूहरुले विर्सन लागेका परम्परागत परिकार तथा वातावरणलाई सिकाइको माध्यमवाट व्यवहारमा उतार्न मदत गर्न थालेको छ। जसवाट शहरी होमस्टेले परम्परागत कला–संस्कृति तथा परम्परा एवम् स्वादलाई जगेर्ना गर्ने कार्य भएको छ । यो अनुपम सकारात्मक कदम हो। यसकारण शहरी होमस्टेलाई सवैले प्रोत्साहन दिन आवश्यक छ।
नामी साप्ताहिकबाट