ललितपुर । ललितपुरको गोदावरी नगरपालिका लप्सेस्थित देउराली आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ।
गोदावरी नगरपालिका-६ स्थित लप्सेका उक्त देउराली विद्यालयका कक्षा १ देखि ५ कक्षासम्मका ३५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो।
योङ पिकासोको आयोजनामा सम्पन्न कार्यक्रममा बिएफबिएस गोर्खा रेडियो, भाटभटेनी सुपरस्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनको सहयोगार्थमा सम्पन्न भएको हो।
बालबालिकाहरुको जाडो याममा सहज पठनपाठनका लागि न्यानो कपडाले सहयोग गर्ने आयोजक संस्था योङ पिकासोका प्रबन्ध निर्देशक अजय देशारले बताए।
विद्यालय रहेको स्थानमा अत्यन्त कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको बसोबास रहेकाले विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन समेत अप्ठ्यारो परेको अवस्थामा न्यानो कपडाले केही सहज बनाउने विद्यालयका निमित्त प्रधानाध्यापक मैया थपलियाले बताइन्।
विद्यार्थीको सिकाइ क्रियाकलापमा नियमितता आवश्यक भएकाले विद्यार्थीले कुनैपनि बहानामा पठनपाठन रोक्न नहुने भएकोले न्यान्यो कपडा वितरण गरिएको भनाई सहयात्राका निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यको भनाई थियो।
सहयात्रा नामक संस्थाको समन्वयमा संचालित यस कार्यक्रममा बालबालिकाहरुलाई ज्याकेट, मोजा तथा चित्रसम्बन्धी सामग्री प्रदान गरिएको थियो।
तामाङजातीका बाहुल्यता रहेको गोदावरी नगरपालिका-६ स्थित लप्सेमा कुनैपनि माध्यामिक विद्यालय छैन भने भएका २ वटा आधारभूत विद्यालयमा पनि कपडा र शैक्षिक सामग्रीकै अभावका कारणले विद्यार्थी विद्यालयमा नियमित नहुुने समस्या देखिदैँ आएको छ।