काठमाडौ । डिश मिडिया नेटवर्क लिमिटेडले साप्ताहिक भिडियो म्यागजिन “सग्लो समाज” प्रसारण गर्ने भएको छ।
हिमाल मिडियाले निर्माण गरिरहेको “सग्लो समाज” म्यागजिनलाई पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन्। सो म्यागजिन डिशहोमको सरोकार च्यानल-१३० मा हरेक साेमबार राती ८:३० बजे प्रसारण हुनेछ।
“सग्लो समाज” को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोर्खाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिएको छ।
देशभित्रै निर्माण गरिएका यस कार्यक्रमलाई बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसारण हुन लागेको डिश मिडियाका अध्यक्ष हेमराज ढकाल भने।
“सग्लो समाज” मा हामीले चिन्तन गर्नु पर्ने, चिन्ता लिनु पर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिनेछ, हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।
हिमाल मिडिया अन्तर्गत हाल www.himalkhabar.com र www.nepalitimes.com समाचार पोर्टल सञ्चालित छन् भने डिसहोम, विगत १० वर्षदेखि पे टिभी इण्डष्ट्रिजमा आफ्नो वेग्लै पहिचान बनाई नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको सफल र प्रतिष्ठित संस्था हो।
डिसहोमले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका अलावा ग्राहकहरुको मनोरञ्जनका लागि विशेष च्यानलहरुका साथै घरमै बसि नयाँ-नयाँ चलचित्र हेर्न सकिने पे पर भ्यु जस्ता सेवा सञ्चालन गरिरहेको छ ।