काठमाडौ । सरकारले नागढुंगादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि प्रारम्भिक रूपमा ६ कम्पनी छनोट गरेको छ ।
ती कम्पनीलाई प्राविधिक प्रस्ताव सहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
नागढुंगादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले संयोजन गरिरहेको छ ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले सम्भाव्यता अध्ययनका लागि परामर्शदाता कम्पनी छनोट गरिएको र प्राविधिक प्रस्तावको आधारमा उपयुक्त एक कम्पनी छनोट गरिने बताए ।
छनोट हुने कम्पनीमा चीन, भारत, कोरिया, टर्की र जापानका रहेका छन् । ती कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र बोलपत्रका लागि आवेदन दिन आग्रह गरिएको छ ।
बोर्डका अनुसार ती ६ कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डिपीआर तयारीको काम शुरु गर्न आग्रह गरिनेछ ।