स्वतन्त्रतापूर्वक जीवन बाँच्न पाउनु हरेक व्यक्तिको मौलिक अधिकार हो। यो अधिकारको सुनिश्चितताका लागि घरपरिवारमा सवै प्रकृतिका मानिसहरुलाई समान अवसर प्रत्याभूत हुनुपर्दछ । समतामूलक समाजको मान्यता यसले राख्ने गर्दछ। सवैलाई समान रुपमा प्रदान गरिने सम्मानपूर्ण सहभागिताको आधार नै स्वावलम्बन जीवनशैली हो । जसले अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सामाजिक मूलप्रवाहमा समावेश गर्ने प्रक्रियाको अवलम्बन गर्दछ ।
यस अवधारणाले अपाङ्गताको विविध प्रकृति र अशक्तताको गाम्भिर्यताको आधारमा कुनैपनि व्यक्तिलाई उनीहरुको आवश्यकता, रुचि, क्षमता र परिवेश अनुसार उपयुक्त अनुकुलता सहित आफ्नै घर तथा समाजमा कुनैपनि अवसरवाट वञ्चित नगरी बाँच्ने अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राख्दछ।
यस पद्धतिले सवै अपाङ्गता भएका व्यक्तिहरुका आ–आफ्नो लिंग, बर्ण, भाषा, जातजाति, धर्म–संस्कृति, आर्थिक अवस्था, भौगोलिक विकटता, घरपरिवार विहीनता आदि प्रकारका विविधतालाई समान मापदण्डले हेरेको हुन्छ। स्वावलम्बन जीवनशैलीले आफ्नै समुदायमा उपस्थिति, समान सहभागिता, आफ्नै छनोट, सम्मान, ज्ञान र सीपको प्राप्ति तथा पहुँचयुक्तता आदिलाई सूचकको रुपमा लिएको हुन्छ।
यो अवधारणाको बहस सन् २००१ को संयुक्त राष्ट्र संघीय ५६ औं महासभा पश्चात भएको हो। त्यसवाट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संवन्धी महासन्धीको मस्यौदा तयार पार्न तदर्थ समिति नै गठन गरेर विश्वव्यापी क्रियाशील गराइएको थियो। नेपालमा पनि स्वावलम्बन जीवन पद्धतिको विकास अपाङ्गताको क्षेत्रमा अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतम, भोजराज श्रेष्ठ लगायतको निरन्तर पहल, पैरबीवाट सार्थकता पाएको छ। जुन यस क्षेत्रका लागि ठूलो सफलता हो।
यस अवधारणावाट अपाङ्गता क्षेत्रका दिगो विकाका लक्ष्यहरु पूर्ति गर्न र गराउन ठूलो सहयोग मिलेको छ। स्वावलम्बन जीवन पद्धति अवधारणामा विशेषत अपाङ्गता मानवअधिकार, उपभोगतावाद, स्वयम्सेवा, पैरबी, सवै अवरोधहरुवाट मुक्ति, दौतरी रोल मोडल लगायत रहेका छन्।
यी यावत अवधारणाभित्रका यथार्थताले अपाङ्गता भएका जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ। स्वावलम्बन जीवन पद्धतिले अपाङ्गता भएका व्यक्तिहरुलाई कसैको बोझ बनाउदैन। स्वावलम्बन वनाएर अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैलीलाई सहज र सरल वनाउने गरेको कारण यसको महत्व र औचित्यले दिनप्रतिदिन सार्थकता पाउंदै गएको। जुन अपाङ्गता क्षेत्रमा आएको आमूल परिवर्तनको विशेष सूचकको रुपमा लिन सकिन्छ ।