काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो।
उक्त समारोहमा गृहमन्त्री थापाले भन, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोत साधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमी हुन दिइनेछैन।”
शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप काम अघि बढाउन आग्रह गरेको हो।
कार्यक्षेत्रमा उच्चमनोबलका साथ काम गर्न निर्देशन दिँदै गृहमन्त्री थापाले थपे, “तपाईँहरुलाई कुनै चुनौती आए मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ, ढुक्कसँग शान्ति सुरक्षामा खटिनुहोस्।”