हिन्दू नेपालीहरुको महान चाड बडादसैंको दोस्रो दिन बिहिबार ब्रम्हचारीणीको पूजा आराधना गरिदैछ ।
नवरात्रीका नौं दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न नौं रुपलाई पूजा गर्ने परम्परा अनुसार ब्रम्हचारीणीको पूजा गर्न देशभरका शक्तिपीठ र दसैंघरहरुमा घुइँचो लागेको छ ।
बुधबार आश्विन शुक्ल प्रतिपदाको दिन घर घरमा घटस्थापना गरि दसैं शुरु भएको छ । दशैँको पहिलो दिन शैलपुत्रीको पूजा गरिएको थियो ।
राजधानीका तलेजु भवानी, गृहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका बाँकेको बागेश्वरी, दाङको अम्बीकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका शक्तिपीठहरुमा पनि पूजा भइरहेको छ ।