काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना आसन्न प्रतियोगितामा खेलाडी, प्रशिक्षक र सम्बन्धीत पदाधिकारीलाई आइसोलेसनमा राख्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।
एन्फाले एक सूचना प्रकाशित गर्दै प्रतियोगिता अवधिभर खेलाडी लगायत सम्पूर्ण व्यक्तिलाई आइसोलेसनमा राख्नुपर्ने भएकोले यसका लागि इच्छुक संघ संस्था वा व्यक्तिलाई सहयोग गर्न आग्रह गरेको हो ।
एन्फाले काठमाडौंमा हुने ३ वटा प्रतियोगिताका लागि खेलाडी र पदाधिकारीलाई आइसोलेसनमा राख्नका लागि सेवा दिन इच्छुक ब्यक्तिलाई सम्पर्क गर्नका लागि पनि आग्रह गरेका हुन् ।
प्रकाशित सूचनाअनुसार सहयोग गर्न इच्छुक संस्था वा व्यक्तिले सात दिनभित्र एन्फामा पत्राचार गर्नुपर्नेछ । एन्फाको आयोजनामा माघ ७ गतेबाट राष्ट्रिय महिला लिग, फागुन ११ गतेबाट शहिद स्मारक बी डिभिजन लिग र चैत १ गतेबाट शहिद स्मारक सि डिभिजन लिग शुरु हुँदैछ।