शुरुमा विभिन्न चलचित्रहरुमा सानो सानो भूमिकामा अभिनय गर्दै पछि आफ्नो उच्च प्रतिभाका कारण नेवारी चलचित्रहरुको सफल निर्देशकका रुपमा स्थापित भइ दुई दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा लिडिङ रोल गरेका र आधा दर्जन नेवारी चलचित्रहरुमा नायकको भूमिकामा सफल अभिनय गर्दै ४ वटा चलचित्र निर्देशन समेत गरिसकेका अत्यन्त मृदुभाषी, सरल र शालिन व्यक्तित्वका धनी स्वतन्त्र संसार महर्जनसँग प्रज्वल घिमिरेले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ।
तपाईलाई लागेको रोग स्पाइनल ट्यूमरले तपाईको कामलाई विथोलेको छ?
आफ्नो कामप्रतिको मेरो लगावका कारण यो रोगले खासै फरक परेको छैन । खाने मुखलाई जङु्गाले कहाँ छेक्छ र ?
कलाकार राष्ट्रको गहना हो । सरकारले तपाइँको उपचारमा चासो देखाएको छ?
छैन। बरु हामीले कर तिरेर सरकारलाई सहयोग गरिरहेका छौं । तर मलाई कुनै आर्थिक सहयोग नगरे पनि अन्य कलाकारहरुलाई चलचित्र विकास बोर्डमार्फत विरामी पर्दा अहिले पहिलेको तुलनामा सहयोग भइरहेको छ। मलाई चाहिँ मेरा शुभचिन्तक र फ्यानहरुले सहयोग गरिरहेका छन्। सरकारले कलाकारहरु धेरै भएकाले सबैलाई सहयोग गर्न संभव नभएको होला। त्यसैले मलाई सरकारसँग खासै गुनासो पनि छैन।
चलचित्र निर्देशक हुनु भन्दा पहिले तपाइँलाई के बन्ने इच्छा थियो ?
मलाई सानै उमेरदेखि कलाकार बन्ने इच्छा थियो । कक्षा दुईमा पढ्दा देखिनै अभिनय र नृत्य गर्न मन लाग्थ्यो। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरुमा भाग पनि लिन्थ्येँ । अतिरिक्त क्रियाकलाप लगायत पढाइमा पनि राम्रै विद्यार्थी थिएँ म।
तपाइँको घरपरिवारको कलाकार बन्नु भन्दा पहिले र कलाकार बनिसकेपछि कस्तो व्यवहार थियो ?
मेरो परिवारको पृष्ठभूमि पनि कलाकारितासँगै सम्बन्धित भएकोले मलाई परिवारबाट प्रात्साहन नै मिल्यो। पछि निर्देशक बनेँ पछि त झन सबै खुशी भए एसएलसी उतिर्ण भएपछि स्कूलहरुमा नृत्य सिकाउन थालेँ। त्यसपछि आर्थिक रुपले केही राहत पनि मिल्यो। खामबन्दी भएर विद्यालयहरुबाट पैसा आउँथ्यो । मलाई राम्रोसँग याद छ सुरुमा मैले स्कूलमा डान्स सिकाएर १ एक हजार ५ सय कमाएको थिएँ। जुन मैले आमालाई दिएको थिएँ । आमा निकै खुशी हुनु भएको थियो। पछि नेवारी चलचित्रबाट ३० हजारसम्म कमाएर पनि मैले आमालाई नै दिएको थिएँ । त्यतिवेला आमा झन खुशी हुनु भएको थियो। वैवाहिक जीवनमा गाँसिएपछि मेरो काममा मेरो जीवनसाथीको पनि मलाई पूर्ण रुपले साथ र सहयोग मिलेको छ।
आजकल के गर्दै हुनुहुन्छ ?
आजकल चाहिँ फेसबुकको प्रत्यक्ष प्रशारणमार्फत संगीतका कार्यक्रमहरु गरिरहेको छु।
भविष्यमा कस्तो चलचित्र निर्देशन गर्ने इच्छा छ ?
सामाजिक परिवेशमा आधारित चलचित्रहरुको निर्देशन गर्ने इच्छा छ ।
तपाइँको विचारमा मान्छेलाई जिउँनको लागि सबैभन्दा आवश्यक चिज के हो ?
आत्म सन्तुष्टी र साथमा आफलाई आफैले विश्वास गरेर बाँच्ने क्षमताको निर्माण गर्न सक्नु नै जीवनको लागि नभइ नहुने कुराहरु हुन्। यि दुई कुरालाई साथमा लिएर हिड्ने मान्छेको जीवन सरल, सुसज्जित र पूर्ण हुन्छ।
तपाइँलाई किन कलाकार बन्न मन लाग्यो ? तपाइँको गुरु को हो ?
टेलिभिजन मेरो गुरु हो । टेलिभिजनमा प्रशारण हुने चलचित्रहरु र नृत्यले मलाई कलाकार बन्न आकर्षित गर्यो। खासमा चाहिँ म लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठसँग एकदमै प्रभावित भएर उहाँको नाच हेर्दै र सिक्दै कलाकारितामा लागेको व्यक्ति हुँ। मैले श्रीकृष्ण श्रेष्ठलाई उहाँको कार्यालय प्रज्ञाप्रतिष्ठानमा भेटेर खोकनामा बोलाई सम्मान पनि गरेँ।
तपाइँको विचारमा एउटा निर्देशक कस्तो हुनु पर्छ ?
निर्देशक भनेको एउटा क्याप्टेन पनि भएकोले उसमा हरेक कुराको ज्ञान हुनु पर्छ साथमा मानवता पनि हुनु पर्छ। अनि एउटा नेतृत्व गर्ने क्षमता भएको सहनशील र सभ्य पनि हुनु पर्छ ।
सरकारले नेपाली चलचित्र जगतको प्रगतिका लागि के गर्नु पर्छ ?
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा स्वीकार्नु पर्छ । र विविध विषयमा केन्द्रित भइ बनेका चलचित्रहरुको विविध ढङ्गले मूल्याङ्कन गरी विषयबस्तु हेरेर सहयोग गर्नु पर्छ। जस्तै ऐतिहासिक, सामाजिक र प्रेम आदि फरक फरक विषयबस्तुहरुमा आधारित चलचित्रहरुलाई विषयबस्तुको गहनताका आधारमा सरकारले सहयोग गर्न सक्यो भने नेपाली चलचित्रहरुको उन्नतिमा ठूलो टेवा पुग्न सक्छ।
अहिले भारतीय चलचित्र कलाकारहरुमाथि लागु पदार्थ सेवनको आरोप लागिरहेको वेला नेपाली चलचित्रको कलाकारहरुमाथि पनि अनुसन्धान हुनु पर्छ जस्तो लाग्छ तपाइँलाई?
त्यस्तो लागु पदार्थ सेवन गर्ने कलाकार नेपालमा कोही छैन जस्तो लाग्छ मलाई। थोरै जनसंख्या भएकोले व्यक्तिगत रुपले पनि मैले लागु पदार्थ सेवन गर्ने नेपाली कलाकार कोही पनि देखेको छैन।