वि.सं. २०२६ सालमा जन्मेर २०४१ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सदस्य भई वामपन्थी विचार धारामा शुरुदेखि निरन्तर समर्पित हुँदै कुनै नेताबाट भन्दापनि राम्रो विचार नीतिबाट प्रभावित हुनुमा गर्व गर्ने र जनताको उन्मुक्ति उत्पीडन र जनजातीको उत्थानका लागि लडेर स्थानीय निर्वाचनमा धुनीबेँसी नगरपालिकाको मेयर पदमा निर्वाचित बालकृष्ण आचार्यसँग प्रज्ज्वल घिमिरेले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ।
राजनीति गर्नु भनेको कस्तो काम जस्तो लाग्छ तपाईलाई ?
राजनीति गर्नु भनेको नितान्त सामाजिक काम भएकोले यो निस्वार्थ ढङ्गले गरिनु पर्छ किनभने सबैको हक र अधिकार अनि हितका लागि राजनीतिज्ञले लड्न सक्नु नै उसको प्रमुख कर्तव्य हुन्छ । स्वच्छ ढंगले सबैको भलाईका लागि आफूलाई समर्पित गर्नु नै राजनीतिज्ञको प्रमुख उद्देश्य हुनु पर्छ।
नेपालमा अहिले हरेक कुरामा अस्वच्छ राजनीति हुने भएकोले चारैतिर समस्या देखिएको हो ?
सामाजिक कामलाई राजनीतिज्ञहरुले पेसाको रुपमा लिएकोले अहिले चारैतिर समस्या देखिएको हो । सर्बत्र विकृति र विसंगतिले जरा गाडेको कारण पनि यहि नै हो । राजनीति गर्नेहरुले समाजको रुपान्तरण भन्दापनि आफ्नो परिवार कसरी पाल्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्दा समस्या देखिएको हो।
राजनीतिज्ञहरुका कारण नेपालमा के हुनु पथ्र्यो ? के भएन ?
राजनीतिज्ञहरुले समाजका लागि नसोचेर आफू र आफ्ना परिवारका लागि मात्र सोचेकाले हामी जस्तो निष्ठाको राजनीति गर्ने स्वच्छ छविका मानिसहरुलाई दुखी तुल्याएको छ । मैले अघि नै भने राजनीति भनेको सामाजिक सेवा हो । मानवताको पर्याय हो । दीन दुखीको पीडा हटाउँने माध्यम पनि हो। तर दुखको कुरा त्यसो हुन सकेन ।
राजनीतिज्ञहरुमाथि गुनासो गर्नु हुन्छ आफ्नो नगरपालिकामा तपाईले पद वहाली गरेपछि मुख्य मुख्य कामहरु के के गर्नु भयो ?
सर्बप्रथम म तपाईलाई यो नगरपालिको परिचयात्मक विवरण दिन्छु । धुनीबेसी नगरपालिका सबैभन्दा कान्छो नगरपालिका हो। यो तीन वटा गाउँविकास समिति मिलेर बनेको नगरपालिका हो । अहिले हामीले यहाँ पहिलेको तुलनामा शिक्षा, स्वास्थ्य, पानी, कृषि, पर्यटन हरेक क्षेत्रमा सफलतापूर्वक काम गरिरहेका छौ । अहिले एक घर एक धाराको नीति कार्यान्वयन गरी सबैलाई पानी सुलभ तरिकाले उपलब्ध गराएका छौ। वर्थिङ्ग सेन्टरमा बच्चा र आमालाई आबश्यकता पर्ने सबै कुरा उपलब्ध गराएका छौ । एमबुलेन्सहरु पनि आबश्यकता अनुसार थपेका छौं। ल्याबको व्यवस्था पनि गरेका छौ । त्यस्तै कृषि प्राविधिक विद्यालयको काम पनि भइरहेको छ । धेरै समय हिडेर विद्यालय जानु पर्ने अबस्थाबाट राहत दिन केहि विद्यार्थीहरुलाई आवासिय विद्यालयको व्यवस्था पनि गरेका छौ । जर्मनी टेक्नोलोजीबाट प्राविधिक विद्यालय चालु भइसकेको छ । खेलमैदान बन्दैछ। बृद्ध बृद्धाहरुका लागि नर्शिङ सेवा सहितको भवन निर्माण हुदैछ । आगामी दशैबाट उक्त भवनको उद्घाटन हुनेछ । हाम्रा नगरपालिकामा जन्मदेखि मृत्युसम्म कसैले पनि अपहेलित हुन नपर्ने गरी काम हुँदैछ ।
आफ्नो नगरपालिका के काम गर्न नपाएकोमा तपाईलाई दुख लागेको छ ? त्यस्तो काम केही छ ?
अन्तर्राष्ट्रियस्तरको खेलमैदान बनाउँने इच्छा छ । हाम्रो नगरपालिकामा चारैतिरबाट फोहोर फालिन्छ। त्यसैले सबैको स्वास्थ्य बीमा गराउँने इच्छा छ। फोहोरको गन्ध हटाउँनलाई केही गर्न सकेको छैन । पुल, सडक, पार्कको व्यवस्था गर्ने इच्छा छ। तर के गर्ने हामीले यिनै कुराहरुबाट चिन्तित भइरहँदा केन्द्रबाट कुनै सुनुवाई नहुनुले मलाई रातदिन पिरोल्छ । हामीसँग केन्द्रले कुनै समन्वय नै नगरी काम गरेकोले धेरै दुःख लाग्छ।
यस्तो परिस्थितिमा भविष्यमा उक्त कामहरु गर्नका लागि हिम्मत गर्न सक्नुहुन्छ ?
कर्मलाई धर्म मानेर सबै काम गर्छु । सुनुवाई नभएर मात्र हो । नत्र हामीले धेरै काम गर्न सक्थ्यौं । व्यवस्थित सीटी बनाएर गहकिलो पर्यटन क्षेत्र नमूनाका रुपमा कृषि फार्म बनाउँने पनि इच्छा छ । तर के गर्ने हाम्रो प्रस्तावको केन्द्रले वास्तै गर्दैन । स्थानिय सरकारको महत्व र औचित्यलाई केन्द्रले बुझिदियो भने हामी हाम्रो नगरपालिकाको उन्नतीका लागि सबै राम्रा कामहरु गर्न सफल हुनेछौ भन्ने कुरामा म ढुक्क छु।