कोरोनाभाइरस (कोभिड–१९) को महामारी रोगलाई नेपालले विगत दश महिनादेखि झेलिरहेको छ। त्यो झेल्ने क्रम रोकिएको छैन्। कोरोना महामारीलाई रोक्ने र रोक्न लगाउने अचुक उपाय नेपालमा कोरोना विरुद्धको भ्याक्सिन नआएको वर्तमान अवस्थामा नियमित रुपमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गर्नु नै हो।
यस मापदण्ड विपरित कुनै भीडभाड तथा हुलहुज्जत गर्न र गराउन नहुने यथार्थता सवैलाई थाहा हुंदाहुंदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै नेपालमा विभिन्न राजनीतिक दल तथा नागरिक समाज सडक आन्दोलनमा उत्रिएका छन्। राजातन्त्रवादीदेखि नेपाली कांग्रेस हुंदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)। साझा विवेकशील लगायतका पार्टीहरुले दिनहुँजस्तो राजधानी काठमाडौं लगायत देशैभर सडक आन्दोलन गरिरहेका छन्।
गाउँगाउंदेखि गाडीका गाडी कार्यकर्ताहरुलाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने एक किसिमको होडबाजी नै चलिरहेको छ। यसप्रकारको होडबाजीले नेपालमा कोरोना महामारीको अन्त्य भएको हो कि भन्ने भान गराएको छ। कुनैपनि प्रकारको सामाजिक दूरी कायम नगरिकन गर्दैआएका यसप्रकारका सडक आन्दोलनले कोरोना महामारीलाई अझ बढी सल्काउने गंभीर डर पनि पैदा गराएको छ। त्यसमाथि, पुस महिनाको मध्य चिसोयाममा यसप्रकारको सडक आन्दोलनले कोरोना महामारीलाई सल्काउने कार्यमा टेवा दिने कार्य भएको छ।
यो एक किसिमले नेपाली राजनीतिले नेपाली जनताको जनस्वास्थ्यमा गरेको चरम लापरवाही हो। राजनीतिक स्वार्थका लागि सामान्य भन्दा सामान्य कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड नअपनाइकन गरेको आन्दोलनको जिम्मेवारी आन्दोलनको नेतृत्व गर्ने नेता तथा पार्टीहरुले लिन आवश्यक छ। आन्दोलन गर्नु र गराउनु कुनै रहर नभइकन बाध्यता भनिएतापनि त्यो बाध्यतामा साँच्चै नै आन्दोलन गर्न र गराउनु छ भने, कम से कम कोरोना विरुद्धको सामान्य मापदण्ड पालना गर्न र गराउन आवश्यक छ।
यस कुरामा नेता तथा पार्टी र आन्दोलनमा होम्मिने नेपाली जनता चुकेको छ। राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको पनि ख्याल गरेको देखिदैन। स्वास्थ्य भएमा सवै हुन्छ भन्ने सामान्य हेक्का पनि राखेको देखिदैन। नेता तथा पार्टी त आफ्नो स्वार्थको लागि जनतालाई मोहरा वनाएर जे जस्तो पनि गर्न र गराउन सक्छ र गर्दैआएका पनि छन्। तरपनि, त्यस्तो आन्दोलनमा होम्मिने जनता आफै सचेत भएर आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु जरुरी छ।
नेता विरामी भयो भने, विदेशमा लगेर भएपनि उपचार गरिन्छ। जनता विरामी हुंदा सरकारी अस्पतालमा पनि ठाउं मिल्दैन। यो कुरा सचेत जनताले सोच्न जरुरी छ। नेपाली जनताको नाममा राजनीति गर्ने नेता तथा पार्टीले पनि जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्दछ। जनता रहेमात्र नेता तथा पार्टी हुने कुरा बुझ्नुपर्दछ।
नेपालमा सरकारले कोरोना महामारीको कारण कुनै सभा–सम्मेलन तथा ठूलो कार्यक्रम गर्न र गराउन स्वीकृति नदिएको अवस्था रहेको छ। कोरोनाको महामारीको वर्तमान अवस्थामा बेहिसावले भैरहेको सडक आन्दोलनले नेपाली जनतालाई कोरोना महामारीको अग्निकुण्डमा होम्न लगाएको हो कि भन्ने भान भएको छ। यसमा स्वयम् नेपाली जनता पनि सचेत हुनु आवश्यक छ। न मास्कको प्रयोग, न त सामाजिक दुरी, न त जनस्वास्थ्यको मापदण्ड विनाको सडक आन्दोलनले सत्ता सल्काउने कार्य भन्दा कोरोना संक्रमणलाई सल्काउन धेरैभन्दा धेरै मदत गरिरहेको छ।