काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको सुनुवाइ फेरि एक सातालाई स्थगित भएको छ।
न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि सुनुवाइ एक सातालाई पछि सरेको हो।
अर्को पेसी पुस २९ गते, बुधबारलाई तोकिएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएको थियो।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएको थियो।
अब प्रधानन्यायधीश राणाले संवैधानिक इजलासमा नयाँ न्यायाधीश चयन गर्नु पर्नेछ। आजको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधिसभा विघटनको मुद्दा वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका छन् ।
संवैधानिक इजलासले भन्दापनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने उनीहरुको तर्क रहेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो।