काठमाडौ । सरकारले आर्थिक बर्ष २०७६/७७ को काम र प्राप्त उपलब्धिसहितको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बार्षिक प्रतिवेदन पेश गरेको हो।
संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको बार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएको छ।
लोकतन्त्रका सबै आधारभूत विशेषतासहितको समाजवादउन्मुख परिपूर्ण लोकतन्त्रको अभ्यास र विकास हुँदै गएको छ। जनता नै राज्य शक्तिका स्रोत हुन् भन्ने मान्यता सही अर्थमा स्थापित भएको प्रतिवेदनमा दावि गरिएको छ।
नागरिकका मौलिक हक एवं सामाजिक न्याय सुनिश्चित गर्न जारी भएका कानुनहरू कार्यान्वयनमा ल्याइएको, सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्शा प्रकाशन गरिएको, संविधानको दोस्रो संशोधन गरी नेपालको अद्यावधिक नक्शा र निशाना छाप समेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको विषय प्रतिवेदनमा समेटिएको छ ।
यस्तै सरकारले थप ९७९ किमी सडक कालोपत्रे र ७५७ किमी सडक स्तरोन्नति गरिएको २१८ सडक पुल निर्माण सम्पन्न गरिएको र सिँचाइ सुविधा थप ५ हजार ५६७ हेक्टर जमीनमा पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ।
आधारभूतस्तरको खानेपानी सुविधा र उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित जनसङ्ख्या यो आर्थिक वर्षमा २/२ प्रतिशतले वृद्धि भई क्रमशः ९१ प्रतिशत र २३ प्रतिशत पुगेको दावि गरिएको छ । राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय सुरक्षा परिषदको बार्षिक प्रतिवेदन पनि पेश गरिएको छ।